कावासोती नगरपालिकाले थाल्यो पठन अभियान

कावासोती, पुस ३

कावासोती नगरपालिका र ब्रिटिश काउन्सिल नेपालको साझेदारीमा नगरपालिका भित्रका ४० वटा  सामुदायिक विद्यालयहरुमा कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई लक्षित गरी आजदेखि पठन अभियान संचालन गरिएको छ । कोभिड १९को प्रभावको कारण लामो समयसम्म विद्यालय बन्द हुँदा तथा फेसबुक जस्ता सामाजिक संजालको अधिक प्रयोगका कारण बालबालिकाहरुमा पुस्तक पढ्ने बानीमा नकारात्मक प्रभाव परेको निष्कर्षसहित यो पठन अभियान संचालन गरिएको कावासोती नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।

शिव नमुना माविमा एक कार्यक्रम आयोजना गरी ब्रिटिश काउन्सिलले प्रकाशित गरेको ‘मेरी नायिका’ र ‘हाम्रो जीवन’ नामक पुस्तक नगरप्रमुख चन्द्र कुमारी पुनको नेतृत्वमा बालबालिकाहरुलाई वितरण गरी पठन अभियानको शुभारम्भ गरिएको थियो ।  विद्यार्थी, अभिभावक, शिक्षक र समुदायका सदस्यहरुलाई घर तथा विद्यालयमा पठन संस्कृतिको महत्वबारेमा चेतन जगाउनु, कावासोती नगरपालिकाका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुमा पढ्न रुची जगाउनु, नगर भित्रका ४० वटै विद्यालयमा रिडिंग क्लब गठन गर्नु, नगपालिकाको शैक्षिक योजनामा पठन संस्कृतिलाई समावेश गर्नु जस्ता उदेश्य यो पठन अभियानले लिएको नगरप्रमुख पुनले बताउनुभयो ।

पछिल्लो समय प्रविधिको आगमनसंगै विद्यार्थीहरुमा मात्रै नभई शिक्षक तथा अभिभावकमा पनि पठन संस्कृति हराउंदै गएकोले पठन अभियानले विद्यार्थी लगायत शिक्षक एवं अभिभावकलाई समेत सकारात्मक प्रभाव पार्ने नगर शिक्षा अधिकृत क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । ‘विद्यार्थीलाई पढ’ भन्नु भन्दा पहिले शिक्षकले पढ्नु पर्नेमा उहाँको जोड रहेको थियो ।

सो अभियान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विक, नगरशिक्षा अधिकृत क्षेत्रबहादुर भण्डारी, शिक्षा शाखा अधिकृत राजन पाण्डे, ब्रिटिश काउन्सिल नेपालका संचार अधिकृत रविन राई, श्रोत शिक्षक तिर्थराज कंडेल, जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपाने, अभिभावक लक्ष्मीप्रसाद पंगेनी लगायतको उपस्थिति रहेको थियो । त्यसपछि जीवनज्योति मावि र ज्ञानोदय माविमा पनि छुट्टाछुट्टै कार्यक्रम गरी नगरप्रमुख कै उपस्थितिमा बालबालिकाहरुलाई पुस्तकहरु वितरण गरिएको थियो ।

ब्रिटिश काउन्सिलले जारी गरिएको प्रेस नोटअनुसार ‘मेरी नायिका’ नामक पुस्तकमा कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई लक्षित गरी १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुले लेखेका कथाहरु समावेश गरिएका छन् भने ‘हाम्रो जीवन’ नामक पुस्तकमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई लक्षित गरी १५ देखि १८ वर्ष उमेर समुहका किशोर किशोरीहरुले लेखेका कथाहरु संग्रह गरिएको छ । यो पठन अभियान डिसेम्बर १८ देखि २४ तारिखसम्म अर्थात् पौष ३ देखि ९ गतेसम्म चल्नेछ |

Facebook Comments Box
नगरको प्राथमिकताको क्षेत्र बालबालिका पनि हो : नगर प्रमुख भुषाल
June 5, 2022

कावासोती-नगर भित्रका सवै बालबालिका को अभिभावक को रूपमा नगरपालिका रहेकोले नगरको प्राथमिकता मा बालबालिका रहेको कावासोतिका नगर प्रमुख बिष्णु प्रसाद…

TOP