कावासोतीको पर्यटन : सम्भावना र चुनौती

राजन पाण्डे

चुरे पहाडले काख दिएको कावासोती । नारायणी नदीले प्राण दिएको कावासोती । प्राकृतिक, साँसकृतिक, जातीय र धार्मिक विविधता र त्यसको उत्कृटताले सुन्दर छ । अनुपम छ ।

चुरे पहाडको शितलता मन भरी लिएर हिँडेको यात्रु तीस चालीस मिनेटको यात्रामा समथर उर्वर फाँटहरु आँखाभरी सजाउँदै स‌सारमै बिरलै पाइने एक सिंगे गै‌डा भएको घना जंगल र साइवेरीयाका चरालाई आकर्षित गर्ने सुन्दर सीमसार एवम् नदी तटीय क्षेत्रमा पुग्छ । मनोरम मात्र होइन अध्ययन र अनुसन्धानका दृष्टिले पनि यस क्षेत्र अनुपम छ । उतकृष्ट छ ।

पर्यटन गतिशील र तीव्ररुपमा विकास भएको एक अत्यन्तै प्रतिस्पर्धी क्षेत्र हो। पर्यटनले गरिबी निवारण, रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र पहिचान राख्न मद्दत पुर्‍याउँछ।

कावासोती सांस्कृतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा साहसिक आकर्षणका विविधताले भरिएको सुन्दर गन्तव्य हुनसक्ने सम्भावना भएको ” भर्जिन ल्याण्ड” हो । अनुपम र अद्वितीय प्राकृतिक, सांस्कृतिक र मनोरञ्जनात्मक सम्पदाहरु कावासोतीका प्रमुख पर्यटकीय आकर्षण हुन सक्छन्।

कावसोतीलाई सुरक्षित, अकर्षक र सुन्दर पर्यटकीय गन्तव्य निर्माण गर्न सकिने अथाह सम्भावना रहेको छ। तथापि कवासोतीमा पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि कावासोतीमा आगमन हुने पर्यटकहरुको कूल सङ्ख्या र पर्यटकबाट हुने लाभको हिस्सा कावासोतीले एकदमै कम पाउने गरेको छ।

यसै यथार्थताको आलोकमा कावासोतीको पर्यटन क्षेत्रको विकासको अवस्था र सुधारका लागि गरिनु पर्ने प्रयत्नका विषयमा यस लेखमा विमर्श गर्ने प्रयास गरिएको छ।

स्थानीय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढ्दो :

पर्यटन क्षेत्रले समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिकजस्ता बहुआयामिक क्षेत्रमा प्रभाव पार्ने गर्दछ । कावासोतीमा पर्यटन क्षेत्रले रोजगारी (प्रत्यक्ष तथा अप्रत्यक्ष) सृजना गरेको छ। जि.डि.पि.मा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान रहेको छ, जुन विगतको भन्दा बढ्दो अवस्था हो

पर्यटकका रुपमा आउने व्यक्तिहरुबाट कावासोतीको समाजले आधुनिकीकरण, भाषा, सभ्यता तथा संस्कार केही रुपमा भए पति सिक्ने अवसर पाएको छ। तर पर्यटकका रुपमा आउने कतिपय व्यक्तिहरु पर्यटन कर्ममा होइन अपराध कर्ममा संलग्न रहेको तथ्य पनि यदाकदा अखबारहरुमा सुन्न र पढ्न पाइन्छ। त्यसैले पर्यटनको फल सहीरुपमा लिनका लागि पर्यटनलाई बहुआयामिक ढंगबाट सञ्चालन, व्यवस्थापन, नियन्त्रण र सबलीकरण गर्न जरुरी देखिन्छ।

कम खर्चिला पर्यटक, थोरै दिनको बसाइ

कावासोतीको पर्यटन संस्कृति र प्रकृतिमा आधारित भएकाले कम खर्चमा यात्रा गर्न रुचाउने, सीमित बजेट भएकालाई आकर्षित गर्ने गरेको पाइन्छ।

उच्चस्तरीय सेवा र सुविधाहरुमा लगानी र उपलब्धतामा जोड दिंदै सघनरुपमा बजारीकरण गर्न सक्दा बढी खर्च गर्न सक्ने धनाढ्य पर्यटकहरुको आगमन बढाउन सकिन्छ। खोजकर्ता, साहसिक खेल मन पराउने, विशेष रुचि भएका र माइस ( मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स, एक्जिबिसन) का लागि आउने पर्यटकले तीर्थाटनमा आउनेले भन्दा बढी खर्च गर्ने गरेको तथ्य रिपोर्टहरुले देखाएका छन्।

तसर्थ हाम्रो अबको रणनीति भनेको पर्यटक आगमनमा वृद्धि गर्नुका साथै उनीहरुको बसाइ लम्बाउने र प्रति पर्यटक खर्च बढाउने हुनुपर्दछ। सारमा भन्दा “उच्च मूल्य लामो अवधि”का पर्यटक हाम्रो लक्ष्य हुनु पर्दछ।

पर्यटकको चाहानाः हाम्रो आवश्यकता

१. सुरक्षाः स्वतन्त्रतापूर्वक निर्धक्क घुमफिर गर्न पाउने वातावरण, गन्तव्यको सुरक्षित छवि पर्यटकको प्रधान अपेक्षा हो। भूकम्प लगायतका प्राकृतिक प्रकोप तथा कुनै पनि किसिमको अप्ठ्यारो पर्दा भरपर्दो उद्धार र सुरक्षाको व्यवस्थाका विषयमा हामीले पर्यटकको विश्वास जित्ने गरी वातावरण निर्माण गर्न सकेका छैनौं।

२. पर्यटकीय मौलिक विशेषताः पर्यटकहरु औसत अनुभवका लागि होइन विशिष्ट अनुभव लिनका लागि घुम्न आउने हुन्। हामीले हाम्रा पर्यटकीय सम्भावनाहरुलाई पनि पर्यटकमैत्री ढंगवाट व्यवस्थापन गर्न सकेका छैनौं।

त्यसैले हामीले पर्यटकलाई मन पर्ने ढंगबाट हाम्रा ऐतिहासिक धरोहर, साँस्कृतिक–परम्परा, प्राकृतिक सौन्दर्य, आतिथ्य –सत्कार, साहसिक गतिविधि र खेलहरु एवम् नौला अवलोकनका अवसरहरु व्यवस्थित गर्न सक्नु पर्दछ।

३. पूर्वाधारः सहज र सस्तो हवाई सेवा तथा सडक यातायात, सूचना—प्रविधि, आवास, स्वच्छ पिउने पानी, सार्वजनिक शौचालय, विद्युत आपूर्ति, फोहोरमैला व्यवस्थापनजस्ता पुर्वाधार पर्यटकको पहिलो रोजाइमा पर्दछन्।

४. सहयोगी व्यवहार वा र प्रबन्धः स्वास्थ्य र उद्धार सेवाको भरपर्दो प्रबन्ध, आतिथ्यता,सेवाको स्तर, आवास, भोजन, बैकिङ सेवा, उद्धार कार्य, सूचना केन्द्र, आइसिटी सेवा, पथप्रर्दशन, मनोरञ्जन क्रियाकलाप आदि सेवा र अवसरहरु पर्यटकको पहिलो रोजाइ हुन्छ।

हामीले सदा बिर्सन नहुने कुरा के छ भने कावासोतीमा बसाइको क्रममा पर्यटकको मन चिसिनु हुँदैन, निराश हुनु दिनु हुँदैन।

योग्य पथ प्रदर्शकको उपलब्धता, वित्तीय सेवा, पर्यटन सूचना प्रणाली, स्वस्थकर खाना र आवासको प्रबन्ध, नेपाली संस्कारसँग जोडिएको आतिथ्यजस्ता विषयमा सघनरुपमा नै सुधारको खाँचो देखिन्छ।

यो अवको बाटो,

संघीय व्यवस्थाअनुसार विन्यास भएको शक्ति, स्रोत, अधिकार र जिम्मेवारीको परिधिभित्र रही कावासोतीले पर्यटन विकासमा लाग्नु पर्दछ। पर्यटन क्षेत्रलाई दिगो, मौलिक र सार्थक बनाउन हाम्रा पर्यटकीय समस्याहरुलाई समाधान गर्दै संभावना तथा अवसरहरुलाई संरक्षण, संवद्र्धन र विकास गर्न आवश्यक छ।

स्थानीय निकायलाई पर्यटन विकासका सन्दर्भमा बढीभन्दा बढी सचेत, सक्षम, जागरुक र क्रियाशील नबनाउँदासम्म अपेक्षित प्रतिफल सम्भव छैन। ग्रामीण पर्यटनलाई प्रबद्र्धन गर्ने गरी घरवास ( होम स्टे) जस्ता पर्यटकीय क्रियाकलापको प्रवद्र्धन गर्न कत्ति पनि विलम्ब गर्न हुँदैन।

आन्तरिक तथा बाहृय पर्यटकहरु आकर्षित हुनेगरी पर्यटन प्रवर्धन गर्न कावासोतीको आफ्नै आकर्षक ब्राण्डहरु निर्माण गर्न आवश्यक छ। हाम्रा नौला स्थान, नौला क्रियाकलाप, नौला अनुभुति प्रति पर्यटकलाइ आकर्षित गर्न बजार प्रवर्धनका रणनीतिलाई आधुनिक पद्धतितर्फ लैजानै पर्छ।

विश्वासिला सञ्चार साझेदारहरुको पहिचान र परिचालन गरी गन्तव्यहरुका बारेमा नयाँ र ताजा जानकारी दिने तथा कावासोतीका प्राकृतिक सामीप्य, साँस्कृतिक सत्यता, आत्मीय सुख र सामाजिक मेलजस्ता उत्साहप्रद मूल्यहरुलाई पर्यटनसँग कसिलोसंग जोड्न जरुरी छ।

पर्यटन बहुसरोकारवालाहरुको अन्तर्सम्बन्धबाट चल्ने क्षेत्र हो। त्यसैले पर्यटनको प्रबर्धन र विकासको लागि सरकारी, गैरसरकारी, निजी तथा साझेदारीको प्रयास आवश्यक छ।

स्थानीय , प्रदेश र संघीय सरकार तथा निजी क्षेत्रको पूर्ण सहयोगसहित पर्यटनमा गुणस्तर मापदण्डको विकास गरी इमान्दार कार्यान्वयन गर्न आवश्यक देखिन्छ। संस्थागत संरचना, नीतिगत व्यवस्था, व्यवस्थापन प्रणाली एवम् समन्वय र नियमन पद्धतिमा सुधार गर्दै प्रयाप्त सहकार्य र उपयुक्त गृहकार्यको साथमा अगाडि बढ्दा “समृद्ध कावासोती, सुखी कावासीतीवासी”को लक्ष्य प्राप्तिमा पर्यटन क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने कुरामा दुईमत नहोला।

(लेखक पाण्डे कावासोती नगरपालिका, शिक्षा शाखाका अधिकृत हुन्)

 

Facebook Comments Box
TOP