शिक्षक अस्पताल कस्तो र कहाँ स्थापना हुनुपर्छ ?

कुसुम न्यौपाने

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट मार्फत शिक्षकहरूको लागि अस्पताल निर्माण गर्न बजेट बिनियोजन गरे। सरकारले सैनिक, प्रहरी, निजामती कर्मचारीलाई जस्तै शिक्षकहरूलाई पनि उपचार सुलभ होस् भनी अस्पताल निर्माणका लागि जग्गा खोज्न समिति नै बनाएको छ। तर अन्य कर्मचारीका लागि छुट्टै अस्पताल बनाउँदा चुँक्क नबोलेका शिक्षकका शत्रुहरुले अहिले शिक्षकलाई छुट्टै अस्पताल किन चाहियो भनेर बिरोध गर्न थालेका छन् । देश परिवर्तनको संवाहक शिक्षकहरुलाई राष्ट्रिय शिक्षा आयोगले समेत अन्य कर्मचारीलाई भन्दा अधिकतम सेवा सुविधा देऊ भनी सिफारिस गरेको अवस्थामा शिक्षकहरुले बर्षौंदेखि माग गर्दै आएको शिक्षक अस्पताल निर्माण हुने कुरा मात्रै सुन्दा पनि किन शिक्षक विरुद्ध बिष बमन गर्छन्, ब्वाँसाहरुले? अस्पताल निर्माण पहिलो शर्त हो भने अस्पतालमा आवश्यक चिकित्सक, उपकरण र व्यवस्थापन अर्को उत्तिकै महत्त्वपूर्ण पाटो हो। शिक्षकहरु र तिनका एकाघरका परिवारका सदस्यहरुलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न निर्माण गरिने अस्पताल पूर्व मेची र पश्चिम महाकाली लगायत उत्तर र दक्षिणका शिक्षकहरूलाई पायक पर्ने गरी नेपालको मध्यभाग नवलपरासी वा चितवन राजमार्ग संगै निर्माण गर्नु उपयुक्त हुने छ। अस्पताल निर्माण गरेर सेवाग्राही शिक्षकहरुको पहुँच सहज हुनु पर्दछ। अस्पतालमा सबै प्रकारका स्वास्थ्य सेवा, ल्याब, विशेषज्ञ सेवा तथा आवश्यक उपकरणहरु हुनु अनिवार्य हुन्छ। शिक्षक बिरामी भई उपचार गर्दा नि:शुल्क सेवा लिन पाउने व्यवस्था गरिनु पर्दछ। सरकारी अस्पताल सरह न्युनतम टिकटबाट स्वास्थ्य सेवा पाउनु शिक्षकहरुको अधिकार हो र यो सुनिश्चित हुनुपर्छ । सबै प्रकारका शिक्षकहरुका लागि अस्पताल निर्माणमा बिरोध गर्नु भन्दा सेवा सुविधा सबैले पाउने कुरामा ध्यान जाओस् । स्वास्थ्य सेवा पश्चात् सरकारले शिक्षकहरुका सबै जायज मागहरु तुरुन्तै सम्बोधन गरोस्।

(लेखक जनता मावि अरुणखोला, नवलपुरका शिक्षक हुन् )

Facebook Comments Box
TOP