कावासोतीका शिक्षकले बनाए जेब्रा क्रसिंग

हाम्रोसगरमाथाडटकम सम्बाददाता

कावासोती/कार्तिक ३०

नेपाल बन्दको सदुपयोग गर्दै पूर्वी नवलपरासी स्थित कावासोती नगरपालिका वडा नं २ मा रहेको नवदुर्गा आधारभूत विद्यालयका शिक्षकहरुले विद्यालय अगाडि रहेको सडकमा जेब्रा क्रसिंग बनाएका छन् | सवारीसाधनको चाप बढ्दै जाँदा विद्यार्थीहरुलाई सडक वारपार गर्न कठिन हुँदै गएपछि विद्यालय अगाडि रहेको सडकमा जेब्रा क्रसिंग बनाएको बताइएको छ |

जेव्रा कसिंग निर्माण भएपछि विद्यार्थी अभिभावकहरुलाई सडक पार गर्न सहज हुने र सडक पार गर्दा हुने दुर्घटनालाई न्यूनीकरण सकिने धारणा विद्यालयका प्रधानाध्यापक टिकाराम दुम्रेले राख्नु भयो | उहाँकोअनुसार सभासद चोक अन्तर्गतको मूल सडक निर्माणाधीन रहेकोले यो सडकमा सवारीसाधनको चाप अत्याधिक हुँदा विद्यालय समयमा संचालित सामजिक कार्य परियोजना अन्तर्गत विद्यालयको अगाडिको सडकमा जेब्रा क्रसिंग बनाइएको हो |

सोही विद्यालयका शिक्षक तथा सामाजिक कार्य परियोजनाका संयोजक मन्जु सिग्देलकाअनुसार व्रिटिश काउन्सिल र कावासोती नगरपालिकाको संयुक्त सहकार्यमा संचालित सामाजिक कार्य परियोजनामा विद्यार्थीहरुले “ट्राफिक नियम” सम्बन्धित परियोजना निर्माण गरेका र सोही परियोजनालाई कार्यान्वन गर्नेक्रममा सम्पूर्ण शिक्षक कर्मचारी मिलेर विद्यालय अगाडि रहेको सडकमा जेव्रा क्रसिंग बनाइएको हो | सो परियोजना अन्तर्गत विद्यार्थीहरुको प्रत्यक्ष सहभागितामा ट्राफिक नियमसम्बन्धित जनचेतनामुलक कार्यक्रमहरु अन्य दिनहरुमा क्रमशः संचालन गर्दै जाने संयोजक सिग्देलले बताउनुभयो|

कावासोती नगरपालिकाका २० वटा सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरुले बनाएको कुनै एक सामाजिक कार्य परियोजनालाई संचालन गर्न ब्रिटिश काउन्सिल, नेपालले ३०० पाउण्ड अर्थात् करिव ४८ हजार रुपैयाँको दरले विऊ पूँजीको रुपमा प्रदान गर्ने कावासोती नगरपालिकाका श्रोत शिक्षक तिर्थराज कंडेलले जानकारी दिनुभयो |

Facebook Comments Box
TOP