वातावरणमैत्री हुन्छन् सालको पातबाट निर्मित दुना टपरी

प्रकृति अर्याल

कक्षा ८

जनकल्याण मावि , कावासोती-१, रिठ्ठेपानी, नवलपुर

प्राचिनकालदेखि सालको पातबाट निर्मित दुना टपरीहरु नेपाली समाजमा प्रचनमा आइरहेको पाइन्छ | प्राय सालका पातबाट बनेका दुना टपरीहरु विभिन्न चाडपर्व तथा पुजाआजामा प्रयोग हुने गर्दछन | तर पछिल्लो समय समाज आधुनिकतामा प्रवेश गरेसंगै दुना टपरीलाई प्लास्टिकबाट बनेका प्लेटहरुले विस्थापित गरिदिएको छ | प्रयोगमा सजिलो र मुल्यमा केहि कम भएपनि प्लास्टिकले बनेका यस्ता प्लेटहरु वातावरणमैत्री भने छैनन् | एक पटक प्रयोग गरेर फालिने यस्ता प्लास्टिकका प्लेटहरुले वातावरणलाई दिनप्रतिदिन असर गरिरहेको छ |

बजारमा अहिले विभिन्न थरिका प्लास्टिकका प्लेटहरु पाइन्छन | यसलाई प्रयोग गरिसकेपछि प्राय जलाइने गर्दछ | जलाउँदा कार्वन उत्सर्जन भई वायुमण्डललाई दुषित गर्दछ | दुषित हावाले मानिसलाई श्वासप्रश्वासको समस्यादेखि क्यान्सर समेत गराउने सम्भावना रहन्छ | प्लास्टिक नकुहिने भएकोले यसले गाउँसहरलाई कुरूप पार्दछ भने माटोको उर्वराशक्ति समेत ह्रास हुने गर्दछ |

सालको पातबाट निर्मित दुना टपरीलाई धार्मिक मान्यताअनुसार पवित्र मानेर पुजाआजा र विवाहब्रतबन्धमा प्रयोग गरिन्छ भने यो प्रकृतिमैत्री पनि छ | यसलाई कुहाएर कम्पोस्ट मल बनाउन पनि सकिन्छ | यसले वातावरणलाई कुनै किसिमको असर पुर्याउदैन |  फुर्सदको समयमा जंगल गएर पात टिपेर ल्याई यसबाट विभिन्न किसिमका दुना टपरी निर्माण गरी बजार बेचेर हामीले आफ्नो दैनिक खर्च जुटाउन सक्छौ | प्लास्टिक पेपरका साटो सालबाट निर्मित दुना टपरीको प्रयोग गरी वातावरंणलाई सुन्दर, सफा र हराभरा बनाउन सकिन्छ | यसको लागि हामीले सकेसम्म रुख बिरुवाहरूलाई संरक्षण गर्ने बानी बसाल्नुपर्छ | सालको पात टिप्दा पनि सालको हाँगा नभाचिकन राम्रोसंग टिप्नुपर्छ  | रुख विरुवा संरक्षण गर्ने बानी बसाल्नुपर्छ  | सालको विरुवा वृक्षारोपण गर्दा वातावरणलाई हराभरा बनाई बाढी पहिरोबाट बच्न सकिन्छ भने अर्कातिर हाम्रो समुदायमा रहनु भएका आमा, दिदी बहिनीहरुले जंगलमा गएर पात टिपेर दुना टपरी निर्माण गरी  त्यसलाई बजारमा ल्याई बचेर आफ्नो दैनिक जीविकोपार्जन गर्न सक्नुहुन्छ | दैनिक ३०० देखि ४०० सम्म टपरी निर्माण गर्न सकिन्छ | अहिलेको बजार मूल्यअनुसार एक सय टपरीको दुई सय रुपैयाँ सम्म पर्ने गर्दछ  | यसरी हेर्दा दैनिक ६ सय देखि ८ सयसम्म कमाउन सकिने देखिन्छ | दुना टपरीबाट हुने आम्दानीले आफ्ना छोराछोरीलाई विद्यालय पठाउने खर्चदेखि लिएर आफ्ना हरेक आवश्यताहरुलाई परिपूर्ति  गर्न पनि सकिन्छ | हामी जस्ता विद्यार्थीहरुले पनि फुर्सदको समयमा सालको पातबाट टपरी निर्माण गरी त्यसलाई बेचेर आएको आम्दानीबाट  कापी कलम किन्ने तथा खाजा खर्च जुटाउन सकिन्छ |

सालको पातबाट बनेका दुना टपरी हाम्रा रितिरिवाज तथा संस्कृतिसंग पनि जोडिएका छन् | प्राचीनकालदेखि प्रयोगमा आएको दुना टपरीबाट आम्दानी गर्न सकिनुका साथै वातावरणलाई पनि संरक्षण गर्न सकिन्छ | तसर्थ सालका रुखहरुलाई संरक्षण तथा प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा लाग्नु हामी सबैको साझा कर्तव्य हो |

 

(प्रस्तुत निवन्ध आइएसए परियोजना अन्तर्गत  Building Eco-friendly Leaf plates from Sal Leaves  परियोजनको निवन्ध लेखन प्रतियोगितामा प्रथम हुन सफल भएको थियो )

 

Facebook Comments Box
TOP