कावासोतीका शिक्षकलाई आइरिस कनेक्ट उपकरण हस्तान्तरण

हाम्रोसगरमाथाडटकम सम्बाददाता

कावासोती/मङ्सिर ४

नेपाल मै पहिलो पटक पूर्वी नवलपरासी स्थित कावासोती नगरपालिका अन्तर्गत २६ वटा सामुदायिक विद्यालयहरुलाई आइरिस कनेक्ट उपकरण हस्तान्तरण गरिएको छ | हिजो अपरान्ह नगरपालिका परिसरमा आयोजित एक कार्यक्रमका विच सो उपकरणहरु शिक्षकहरुलाई वितरण गरिएको हो | कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिले उपस्थित शिक्षकहरुलाई निर्देशन र शुभकामना दिनुभएको थियो | त्यस्तै नगर शिक्षा अधिकृत छत्रबहादुर भण्डारीले शिक्षकहरुलाई सम्बोधन गर्दै आइरिस कनेक्ट उपकरणको माध्यमबाट शिक्षकहरुले आफ्नो शिक्षण कार्यको आफैले अनुगमन तथा आत्मानुभूति गर्दै शिक्षण सिकाई क्रियाकलापमा सुधार ल्याउन सक्नुपर्ने कुरामा जोड दिनुभयो |

आइरिस कनेक्ट उपकरण भित्र एक थान क्यामरासहितको सामसुङ मोबाइल ट्याब, एक थान स्ट्यान्ड, एक थान ब्लुतुथसहितको स्पिकर, चार्जर तथा ती समान राख्ने एक थान झोला रहेका छन् |

आइरिस कनेक्ट उपकरण कक्षाकोठामा जडान गरेपछि क्यामराले शिक्षकले अध्यापन गरेको भिडियो रेकर्ड गर्दछ र शिक्षकले आफुले कस्तो शिक्षण गरें भनेर पछि हेर्न सक्छ | यसबाट शिक्षकको शिक्षणमा कुनै कमीकमजोरी भए सुधार्न सकिन्छ भने राम्रो शिक्षणलाई वेवसाइटको माध्यमबाट शेयर पनि गर्न सकिन्छ |

आइरिस कनेक्ट उपकरण कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा गत कार्तिक १४ गते शिक्षकहरुलाई अभिमुखीकरण तालिम दिइसकिएको तथा ब्रिटिश काउन्सिल, नेपालले पाइलट प्रोजेक्टको रुपमा ती उपकरणहरु वितरण गरिएको श्रोत शिक्षक तिर्थराज कंडेलले बताउनुभयो |

सो उपकरण वितरण कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ति, नगर शिक्षा अधिकृत छत्रबहादुर भण्डारी, शिक्षा शाखा अधिकृत राजन पाण्डे, छनोटमा परेका २६ वटा सामुदायिक विद्यालयका २६ जना शिक्षकहरुको उपस्थित रहेको थियो | कार्यक्रमको सहजीकरण कावासोती नगरपालिकाका  श्रोत शिक्षक तिर्थराज कंडेलले गर्नुभएको थियो |

 

Facebook Comments Box
TOP