अन्तराष्ट्रिय स्कूल अवार्ड परियोजना अन्तर्गत संचालित विद्यालय परियोजना “सालको पातबाट वातावरणमैत्री दुना टपरीको निर्माण”: एक प्रतिवेदन

बिष्णुमाया पोखरेल

हामी २१औं शताब्दीमा छौ | आधुनिकतासंगै समाजमा नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन | आधुनिकतासंगै  भित्रिएका यी प्रविधीहरुले हाम्रो दैनिक जीवनमा सहजता थप्ने काम गरेता पनि यस्ता प्रविधिहरुले हाम्रो वातावरणलाई प्रदुषित गरिरहेको हुन्छ | फलस्वरूप हामीलाई विभिन्न किसिमका रोगहरु लाग्न सक्छन | पछिल्लो समय प्लास्टिक जन्य पदार्थको प्रयोग बढ्दो छ | यसको प्रयोगमा वृद्धिसंगै वातावरणमा पनि चुनौती थपिएको छ | प्लास्टिकजन्य पदार्थको व्यवस्थापनमा कमजोरी हुँदा यसले वायु प्रदुषण, जल प्रदुषण, माटोको उर्वराशक्तिमा ह्रास ल्याउने, स्वास्थ्यमा समस्या देखापर्ने जस्ता समस्या सिर्जना गरेको छ |

यही कुरालाई मध्यनजर गर्दै कावासोती नगरपालिका र व्रिटिश काउन्सिलद्वारा संयुक्त सहकार्यमा संचालित अन्तराष्ट्रिय स्कुल अवार्ड (आइएसए) परियोजनामा जनकल्याण मावि, कावासोती १, रिठेठेपानीले पनि Building Eco-friendly Paper Plates From Sal leaves अर्थात् “सालको पातबाट वातावरणमैत्री दुना टपरीको निर्माण”  शिर्षकमा एउटा परियोजना तयार पार्यो | परियोजनालाई विभिन्न क्रियाकलापमा पनि विभाजन गरिएको थियो | विद्यालयको सेवाक्षेत्र नजिकै सालको घना जंगल रहेको र सालको पात पनि प्रशस्तै उपलब्ध हुने भएकोले पनि यो परियोजना छनोटमा परेको हो | प्लास्टिकबाट बनेका पेपर प्लेटलाई निरुत्साहित गर्दै वातावरणलाई संरक्षण गर्नु नै यसको मूल उद्देश्य रहेको थियो | यस परियोजनामा कक्षा ६,७,८,९ का गरी जम्मा करिव ६० जना विद्यार्थी भाइ बहिनीहरु सहभागी भएका थिए |

 

परियोजनालाई कार्यन्वयन गर्न पहिलो क्रियाकलापको रुपमा विद्यार्थी भाइबहिनीहरुलाई परियोजना सम्बन्धी पूर्व ज्ञान छ/छैन भनी परिक्षण गर्नका लागि पूर्व ल्याकत परीक्षा लिएको थियो | परीक्षाको नतिजाअनुसार ९० प्रतिशत विद्यार्थीहरुलाई सालको पालबाट दुना टपरी निर्माण गर्न सकिने कुराको जानकारी भएता पनि यसको प्रयोगबाट वातावरण संरक्षणका साथै अतिरिक्त आम्दानी गर्न सकिदो रहेछ भन्ने कुरा जानकारी नभएको पाइयो |

 

क्रियाकलाप -२ अन्तर्गत सालको पातबाट विभिन्न किसिमका दुना टपरीहरु कसरी निर्माण गर्ने र बजारमा यसको मूल्य कति छ? यसले हाम्रो वातावरणमा कस्तो प्रभाव पार्दछ? भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम हाम्रो स्थानीय विज्ञका रुपमा केशरी राना आमा आएर सबै कुराहरु प्रष्ट पारिदिनु भयो | अभिमुखीकरण कार्यक्रमबाट विद्यार्थी भाइबहिनीहरुले हाम्रा समुदायमा रहेका विभिन्न किसिमका सामग्रीहरुको प्रयोग गरेर समान निर्माण गरी फुर्सदको समयलाई सदुपयोग गर्न सक्नुका साथै आफ्नो दैनिक जीविकोपार्जन पनि गर्न सकिने कुराका बारेमा जानकारी प्राप्त गरे  |

यसैगरी विद्यार्थी भाईबहिनीहरुले प्रश्नावली सहित समुदायमा गई समुदायमा रहेका व्याक्तिहरुले पात कहाँबाट ल्याउनु हुन्छ? यसबाट मासिक कति आम्दानी गर्नु हुन्छ? एक दिनमा कति निर्माण गर्न सक्नु हुन्छ ? यसको मूल्य कति पर्छ ? वनजंगल संरक्षण गर्न के के गर्नुपर्छ ? जस्ता प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरे | जंगलमा सालका साना साना रुखाबिरुवालाई संरक्षण गर्दै खेर जाने पातहरुलाई टिपेर ल्याई सो पातबाट विभिन्न किसिमका दुनाटपरी निर्माण गरी बजारमा ल्याई बेचेर आफ्नो दैनिक जीविकोपार्जन गर्न सकिने जानकारी यस क्रियाकलापबाट विद्यार्थीहरुले प्राप्त गरे  |

हामी एक सामाजिक प्राणी भएका कारण पनि हाम्रो समाजमा मान्दै आएका विभिन्न किसिमका चालचलन रितिरिवाजहरुलाई मान्नु पर्ने हुन्छ | यस्ता सालको पातबाट निर्मित दुनाटपरीहरु हाम्रा विभिन्न पुजाआजा र चाडपर्वहरुमा पनि यसलाई पवित्र मानि यसको प्रयोग गर्ने चलन छ रहेको तथ्य पनि प्राप्त गर्न विद्यार्थीहरु सफल भए |

यस्तै गरी विद्यार्थी भाइबहिनीहरुले अन्य देशहरुमा पनि सालको पातबाट के कस्ता सामग्री निर्माण गरिदो रहेछ भन्ने कुराको जानकारी दिन विद्यार्थीभाई बहिनीहरुलाई युट्युव मार्फत भिडियो देखाइयो | त्यस अवलोकनबाट विद्यार्थी भाइबहिनीहरुले भारतमा पनि सालको पातबाट प्लेट निर्माण गरिदो रहेछ भन्ने जानकारी  प्राप्त गरे | यो क्रियाकलापलाई परियोजनाको भाषामा  International Dimension  भनिन्छ |

यसैगरी विद्यार्थी भाईबहिनीहरुलाई सालको पातबाट निर्मित दुना टपरी र वातावरण शिर्षकमा  निबन्ध  लेख्न पनि लगाईयो | जसबाट विद्यार्थीहरुले धेरै उत्कृष्ट लेखहरु लेखेका आधार प्रथम, द्दितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि पुरस्कारको वितरण पनि गरियो | यसैगरि विद्यार्थीभाई बहिनीहरुलाई सालको पातसंग सम्बन्धित गीत रच्न लगाएर भाका सहित गाउन लगाईयो | जसमा निकै रोचकपूर्ण तरिकाबाट विद्यार्थीभाई बहिनीहरुले भाग लिए|

इच्छाशक्ती भए पछी कुनै कुराले रोकावट गर्न सक्दैन भने झैँ शिक्षकहरुको सहयोग लिएर छात्रा विद्यार्थी विद्यालय नजिक रहेको जंगलमा गएर पात टिपेर ल्याई सो पातबाट बिभिन्न आकारका दुना टपरी बनाएर ल्याई सो दुना टपरी विद्यालयमा खुवाईने दिवा खाजा खुवाउनका लागि पनि प्रयोग गरियो |

यस परियोजनाले विद्यार्थीहरुमा समुहमा काम गर्ने बानीको विकास गदै स्थानीय प्रविधिहरुको प्रयोगबाट फुर्सदको समयलाई सदुप्रयोग गरी घर नजिकै रहेको जंगलबाट पात टिपी दुना टपरी बनाएर बजारमा बेची आफ्नो दैनिक जीविकोपार्जन गर्न सकिने संदेश दिएको छ | यसका साथै यो परियोजनाले सालका सानासाना बोटविरुवाहरुलाई संरक्षण गर्दै पात संकलन गर्नु पर्छ भन्ने शिक्षा पनि विद्यार्थीहरुलाई सिकाएको छ | यसबाट वातावरण संरक्षणमा टेवा पुग्ने आशा पनि गरिएको छ |

परियोजनालाई सफलतापूर्वक संचालन गर्न सहयोग गर्नुहुने आइएसए संयोजक लक्ष्मीप्रसाद पंगेनी, सम्पुर्ण शिक्षक मित्र तथा सहभागी विद्यार्थी भाईवहिनीहरुमा हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु |

(प्रतिवेदक पोखरेल जनकल्याण मावि,कावासोती १ का शिक्षक तथा परियोजना संयोजक हुनुहुन्छ )

Facebook Comments Box
TOP