आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने

admin May 11, 2020
आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने

काठमाण्डौ – आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुल्ने तर दिउँसोपछि फेरि बदली भई विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका धेरै ठाउँको मौसम बदली भएको हो । यो प्रणाली कमजोर भएकाले मौसम खुल्दै गएको छ ।

तर दिउँसोपछि स्थानीय वायु सक्रिय भएपछि फेरि मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद् प्रधानाङगको भनाई छ । आज पहाडका धेरै र तराईका थोरै ठाउँमा पानी पर्ने पनि उहाँले जानकारी दिनुभयो ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले अहिले पनि उच्च वायुमण्डलको तापक्रम, हावाको गति दिशा, चाप, सापेक्षित आद्रताबारे जानकारी लिन बेलुन उडाइरहेको छ । रेडिएसन जडान गरेर उडाइने यो बेलुनले मौसम पुर्वानुमान गर्न सहज हुने मौसमविद्को भनाई छ ।

यसलाई निरन्तरता दिन सके मौसम पूर्वानुमानमा अझै विश्वस्त हुन सकिने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । प्रविधि अभावका कारण नेपालमा नाउकास्ट अर्थात अहिलेको मौसमी अवस्थाबारे जानकारी दिन कठिन रहेको अवस्थामा देशका अरु ठाउँबाट पनि रेडिएसन जडित बेलुन उडाउन सके नाउकास्ट गर्न सहज हुने उहाँको भनाइ छ ।