
कपिलवस्तु, २६ चैत ।
शिवराज नगरपालिका–५, चन्द्रौटाका युवा व्यवसायी श्यामलाल बन्जाडेले तीन जिल्लाका तीन पालिकाको बिपद् व्यवस्थापन कोषमा एक–एक लाख सहयोग गरेका छन् ।
कोरोना भाइरस (कोभिड १९) का कारण हुन गएको लकडाउनबाट उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित दैनिक ज्यालादारी मजदुर तथा बिपन्नलाई खाद्यान्न सहयोगका लागि बन्जाडेले कूल ३ लाख रकम सहयोग गरेका हुन् । बन्जाडेले तीनै पालिकाको विपद् व्यवस्थापन कोषको खातामा चेक जम्मा गरिदिएको बताएका छन् ।
किरानाको थोक तथा फुटकर व्यवसायी बन्जाडेले आफ्नो गृह जिल्ला कपिलवस्तुको शिवराज न.पा. तथा प्युठान न.पा. र रोल्पा नगरपालिकाको विपद् व्यवस्थापन कोषको खातामा एक एक लाख जम्मा गरिदिएको जानकारी दिएका छन् । आफ्नो मुख्य व्यापारिक क्षेत्र भएकाले गृह जिल्लाबाहेक अन्य दुई जिल्लाको एक एक नगरपालिकाका अति विपन्न र असहाय परिवारका लागि मानवीय नाताले रकम सहयोग गरेको बन्जाडेले बताएका छन् ।
यससँगै निजीक्षेत्रबाट शिवराज नगरपालिकाको विपद् व्यवस्थापन कोषमा कूल ५ लाख ६ हजार ३सय ६६ रुपैयाँ सहयोग प्राप्त भएको शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन् । आर्थिक रकम बाहेक विभिन्न दाताहरुबाट १सय ८५ क्विन्टल चामल, १६ क्विन्टल दाल, १६ क्विन्टल नून र ८सय लिटर खानेतेल सहयोग प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । सहयोग प्राप्त भएको खाद्य सामग्रीमध्ये २० क्विन्टल चामल संघीय सांसद अभिशेष प्रताप शाहबाट, ५ क्विन्टल चामल रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष ज्ञानुप्रसाद पोखरेलबाट र बाँकी १सय ६० क्विन्टल चामल तथा दाल, नून र तेल चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा लोकप्रिय हार्डवेयर एण्ड आयल सेन्टरका प्रोप्राइटर जमशेर अलि मियाँबाट सहयोग प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जनाए ।
यता आर्थिक रकमतर्फ शिवराज नगरको विपद्कोषमा शिवशक्ति ट्रेडर्सका सरोज पौडेलबाट २१ हजार, शुभलक्ष्मी बहुउद्देश्यीय महिला सहकारी संस्थाबाट १० हजार, दियालो नेपालबाट १० हजार, शिवराज जेसिसबाट १० हजार, ओम इलेक्ट्रोनिक्सका व्यवस्थापक एवं व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलबाट ५५ हजार ५सय ५५ रुपैयाँ सहयोग भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
यस्तै शिवराज ५, कटनी टोलबासीबाट २१ हजार, सुगम ढुवानी सेवाका गोविन्द के.सी.बाट ५१ हजार, चन्द्रौटा निवासी त्रिलोचन पाण्डेबाट ११हजार १सय ११, गंगादेवी ट्रेडर्सका नारायण भाटक्षेत्रबाट १० हजार, श्रृजनशील बचत तथा ऋण सहकारीबाट ७ हजार, अरनिको बचत तथा ऋण सहकारीबाट ५० हजार, सर्वोदय महिला बचत तथा ऋण सहकारीबाट १०हजार, जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाबाट १५ हजार १सय, उज्यालो बचत तथा ऋण सहकारी संस्थाबाट १५ हजार, बिगुल बचत तथा ऋण सहकारी संस्थाबाट १० हजार रकम सहयोग भएको छ । राहुल ड्रिङ्किङ वाटर तथा सेरोमनी पिउने पानीका व्यवस्थापक चिन्तामणी भुसालबाट ११ हजार, शिव सपना ट्रेडर्स एण्ड सप्लायर्सका व्यवस्थाक एवं चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद पाण्डेबाट ५१ हजार, क्रिष्टल फ्ल्याक्स प्रिन्ट तथा स्काई फेसन गार्मेन्टका व्यवस्थापक पदम पौडेलबाट १५ हजार, दिपाली निर्माण सेवाका दलर्जन के.सी.बाट ११ हजार र शिवराज १ निवासी सरोज शर्माबाट ११हजार ५सय रुपैयाँ शिवराज नगरपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा भएको नगरपालिकाले जनाएको छ ।
Last Edited By Subodh Regmi


Popular Interviews
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- नेइमारपछि काभानीको चोटका कारण गम्भीर चिन्तामा पिएसजी March 26, 2020
- शंकाको सम्बन्धलाई विश्वासमा बदल्न प्रयत्न गर्छु March 26, 2020
- “संघीयताको अभ्यासले विकासमा समय लाग्ने भयो–सभामुख महरा” March 26, 2020